गतिविधि खबर
October 21, 2020

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले भियतनामको श्रम, भूतपूर्व सैन्य तथा सामाजिक मामिला मन्त्रालयसित गऱ्यो MOU हस्ताक्षर

FacebookTwitterEmailLineMessage

सन् २०२० अक्टोबर २१ तारिखमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले मानवीय सहयोगका लागि भियतनामको श्रम, भूतपूर्व सैन्य नर्सिङ होम तथा सामाजिक मामिला मन्त्रालयसँग समझदारी पत्र MOU(Memorandum of Understanding) हस्ताक्षर गऱ्यो । दुवै पक्षहरूले आ-आफ्नो कार्यक्रम स्थलमा भेला भएर, कोभिड-१९को जोखिममा परेका असुरक्षित वर्गहरूलाई सहयोग गर्न MOU हस्ताक्षर समारोहको लागि भिडियो सम्मेलन आयोजना गरे । भिडियो सम्मेलनमा वीलभयूकी माननीय अध्यक्ष जाङ गिल जाज्यू, बोर्ड सदस्यहरू, उपाध्यक्ष गिम जु छल र बोर्ड अध्यक्ष इ गाङ मिनका साथै भियतनामको श्रम मन्त्रालयका अधिकारीहरू लगायत अन्तर्राष्ट्रिय सहकारिता विभागका महानिर्देशक ङुएन माइन क्वङ, राष्ट्रिय भक्त विभागका उपनिर्देशक ङुएन सुन लाअङ, र अन्तर्राष्ट्रिय सहकारिता विभागका उपनिर्देशक काओ थि थाइन थुइ सहभागी भएका थिए ।

मानवीय सहायताको लागि भियतनामको श्रम मन्त्रालयसित वीलभयूद्वारा साझेदारी निर्माण

वीलभयू र भियतनामबीचको मैत्री सम्बन्ध करीब २० वर्ष पुरानो छ । वीलभयूले सन् २००२मा भियतनाममा बाल केन्द्र स्थापना गर्न समर्थन गरेदेखि दुवै देशहरूमा कल्याणकारी कार्यहरू हुने क्रम जारी छ । कोरियामा वीलभयूले मुटुरोग भएका भियतनामी बालबालिकाहरूलाई सहयोग प्रदान गर्नुको साथै भियतनामी आप्रवासी महिलाहरू र बहुसांस्कृतिक परिवारहरूलाई पनि सहयोग गर्दैआएको छ । भियतनाममा वीलभयूले भियतनामी आदर्श आमाहरू (युद्धमा पति-वियोगले गर्दा परिवारको जिम्मेवारी धानेका महिलाहरू)का लागि रक्तदान, क्लिन वर्ल्ड अभियान र समर्थनयुक्त कार्यक्रमहरू सञ्चालन गरेको छ ।

यस्तो ऐक्यबद्धताद्वारा, भियतनामका असुरक्षित वर्गहरूलाई सहयोग गर्ने र विभिन्न मानवीय सहायताद्वारा मानव कल्याण गर्ने हेतुले MOU हस्ताक्षर गरियो । कोरियाको समयअनुसार बिहान १०:३० बजे (भियतनामको समयअनुसार बिहान ८:३० बजे) कोरियाको फान्ग्योमा अवस्थित वीलभयूको अन्तर्राष्ट्रिय सम्मेलन कक्ष, र भियतनामको हानोइमा अवस्थित एडोनिस होटलको सम्मेलन हलमा अनलाइन भिडियो सम्मेलन गरियो । मैत्रीपूर्ण माहोलमा सुरु भएको उक्त बैठक, कोरियाली र भियतनामी भाषामा प्रत्यक्ष उल्था गरिँदै करीब डेढ घण्टासम्म जारी रह्यो ।

कोरिया-भियतनाम सम्बन्धलाई बलियो पार्ने र कल्याणकारी गतिविधिमा सहकारिता गर्ने वाचा

उद्घाटन मनतव्यमा माननीय अध्यक्ष जाङ गिल जाज्यूले, कोभिड-१९ महामारीका कारण पूरै विश्व सङ्कटमा गुज्रिरहेको भए पनि उक्त सम्मेलनमा सम्झौता गरिएको सहकारिताचाहिँ उज्ज्वल भविष्यका लागि कोसेढुङ्गा बन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले वीलभयू र भियतनामबीचको सहकारिताको आधारमा MOU हस्ताक्षरचाहिँ मानव-जातिको साझा लक्ष्य हासिल गर्ने पहिलो पाइला बन्ने आशा व्यक्त गर्नुभयो ।

भियतनामको श्रम मन्त्रालयको अन्तर्राष्ट्रिय सहकारिता विभागका महानिर्देशक, ङुएन माइन क्वङले “कोभिड-१९ महामारीले हामीलाई नयाँ अनेक चुनौतीहरू र कामहरू त थपिदियो तर त्यसले हाम्रो सहकारितालाई रोक्न भने सकेन । आजको अनलाइन सम्मेलन नै यो कुराको प्रमाण हो” भने । साथै तिनले “भियतनाम र कोरियाबीच घनिष्ठ साझेदारी भएकोले श्रम मन्त्रालयले पनि वीलभयूका गतिविधिहरूको उच्च कदर गर्दछ” भन्दै कृतज्ञता व्यक्त गरे ।

सङ्गठनको उद्घाटन मन्तव्य र परिचयपछि सहकारिताका योजनाहरू प्रस्तुत गरियो । भियतनाममा वीलभयू शाखा प्रबन्धक जाङ ह्यन जिनले भविषयमा भियतनामको श्रम मन्त्रालयसँग सहकारिता गर्ने सम्बन्धमा ३ मुख्य योजनाहरू प्रस्ताव राखे । पहिलो, भियतनामका आदर्श आमाहरूको जीवनलाई समर्थन गर्ने । दोस्रो, विपन्न परिवारहरू, असहाय र असुरक्षित वर्गहरूलाई जीविकोपार्जन र भौतिक पूर्वाधारमा समर्थन गर्दै उनीहरूका लागि स्वयंसेवा र शिक्षादीक्षा प्रदान गर्ने । तेस्रो, रक्तदान र क्लिन वर्ल्ड अभियान नियमित रूपमा आयोजना गर्ने । यस्ता व्यावहारिक र विविध गतिविधिहरूद्वारा वीलभयूले भियतनामका नागरिकहरूको स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने योजना गरेको छ ।

माननीय अध्यक्ष जाङ गिल जाज्यूद्वारा भियतनामको श्रम मन्त्रालयलाई पहिलो चरणको सहयोग अनुदान हस्तान्तरण

वीलभयूका बोर्ड अध्यक्ष इ गाङ मिन र भियतनामको श्रम मन्त्रालयको अन्तर्राष्ट्रिय सहकारिता विभागका महानिर्देशक ङुएन माइन क्वङले MOU हस्ताक्षर गरे । बोर्ड अध्यक्ष इ गाङ मिनले “कोभिड १९ महामारीको बीचमा सबैभन्दा आवश्यक कुरा भनेकै आमाको प्रेम समाविष्ट न्यानो सहकारिता हो” भने । तिनले वीलभयू र भियतनामबीच मानवीय एकता निर्माण गरी, विश्वव्यापी गाउँमा विकास र खुशीयाली ल्याउनको निम्ति उक्त MOU हस्ताक्षरले कोसेढुङ्गाको भूमिका निभाउने आशा व्यक्त गरे ।

MOU हस्ताक्षर समारोहपछि माननीय अध्यक्ष जाङ गिल जाज्यूले भियतनामी श्रम मन्त्रालयलाई पहिलो चरणको सहयोग अनुदान हस्तान्तरण गर्नुभयो । यो कोषचाहिँ भियतनामको श्रम मन्त्रालयको नेतृत्वमुनिका ८ वटा भूतपूर्व सैन्य नर्सिङ होमहरूमा युद्धका अशक्त सेनाहरूको सहयोगार्थ प्रयोग गरिन्छ । थुअन थानको भूतपूर्व सैन्य नर्सिङ होमका अध्यक्ष ङुएन भान हुअङले “भूतपूर्व सेनाहरूका लागि पुनर्वास कार्यक्रम र नर्सिङ कर्मचारी जस्ता सुविधाहरू पर्याप्त नहुनुको कारणचाहिँ विगतमा भियतनामले धेरै युद्धको सामना गर्नुपरेको र युद्धका कारण धेरै जना युद्ध पीडित बनेकाले गर्दा हो भन्नुभयो । यसबाहेक उहाँले कोभिड-१९ले गर्दा अवस्था थप चुनौतीपूर्ण भए पनि वीलभयूले नर्सिङ होमलाई समर्थन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

मानव शान्ति र कल्याणका लागि भियतनामको श्रम, भूतपूर्व सैन्य तथा सामाजिक मामिला मन्त्रालयसँग MOU हस्ताक्षर गर्न पाएकोमा म एकदमै खुशी छु । MOUद्वारा, गरिबी र अनिकाल उन्मूलन जस्ता अन्तर्राष्ट्रिय समाजका साझा लक्ष्यहरू पूरा गर्नलाई हामी मिलेर काम गरौं । हामीहरूको सञ्चार र सहकारिताद्वारा मानव-जातिको भविष्य उज्ज्वल बनाउनमा सँगै योगदान पुग्नेछ भनी आशा गर्दछु ।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी माननीय अध्यक्ष जाङ गिल जाज्यू

सबैले मुस्कुराउँदै “वी लभ यू” भनेर चिच्च्याउँदै ताली बजाएसँगै कार्यक्रम समाप्त भयो । विपन्न वर्गको सुरक्षाका लागि कल्याणकारी गतिविधिहरूको महत्त्वलाई थप वर्णन गर्नुपर्छ जस्तो लाग्दैन । महामारीका कारण धेरै देशहरूमा सामाजिक तथा आर्थिक कठिनाइहरू बढ्दैगएकोले अहिले यो झनै बढेको छ । कोभिड-१९ विरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता परेको यो समयमा MOU हस्ताक्षरले वीलभयू र भियतनामको श्रम मन्त्रालयबीचको सहकारितालाई उत्प्रेरित गर्नेछ ।