गतिविधि खबर
July 5, 2012

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जाबाट चरित्रसम्बन्धी विशेष शिक्षा

FacebookTwitterEmailLineKakaoMessage

सन् २०१२ जुलाई ५ तारिखमा अध्यक्ष जाङ गिल जालाई चरित्रसम्बन्धी विशेष शिक्षा दिनको निम्ति येउमको गाछन विश्वविद्यालयमा आमन्त्रण गरियो । छोरा-छोरीहरूको पढाइलाई लिएर बुबा-आमाहरूले लिने चिन्तालाई कम गर्न ‘खुशी विद्यालय अभिभावक एकेडेमी’ प्रोजेक्टको एक हिस्साको रूपमा उक्त शिक्षा कार्यक्रमको आयोजना गरिएको थियो । उहाँले, छोरा-छोरीहरूलाई प्रतिभाशाली नागरिक बन्न कसरी हुर्काउने भन्नेबारे सिकाउनुभयो, अनि त्यो प्राप्तिको निम्ति आमाहरूले खेल्ने मुख्य भूमिकामाथि पनि प्रकाश पार्नुभयो । लगभग ५०० जना बुबा-आमाहरूले उक्त कार्यक्रममा सहभागिता जनाएर आफ्ना छोरा-छोरीहरूको चरित्र निर्माणसम्बन्धी व्यावहारिक कुराहरू सिक्ने समय लिए ।

अध्यक्ष जाङ गिल जाले ‘खुशी विद्यालय अभिभावक एकेडेमी’बाट दिनुभएको शिक्षा

अध्यक्ष जाङ गिल जाले कलेज प्रवेश कोचिङ कोर्सको ‘खुशी विद्यालय अभिभावक एकेडेमी’ प्रोजेक्टबाट शिक्षा दिनुभयो । योचाहिँ दोङआइजीएद्यु सहकारी लिमिटेड र जिन्हाग्साद्वारा आयोजना गरिएको थियो । तिनीहरूले विभिन्न शैक्षिक पृष्ठभूमिका विशेषज्ञहरूलाई एकै ठाउँमा भेला गरेर, छोरा-छोरीको शिक्षा र भविष्यप्रति चिन्तित रहने बुबा-आमाहरूको निम्ति प्रस्तुतिहरू दिए । जून १४ तारिखदेखि सुरु भएको उक्त शिक्षा कार्यक्रम हरेक बिहीबार हप्तामा एक पटक गरी ४ पटक आयोजना गरियो ।

आयोजकहरूले अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जालाई अन्तिम वक्ताको रूपमा आमन्त्रण गरे । प्रोजेक्टको अन्तिम दिन, जुलाई ५ तारिखमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जा सङनाम प्रान्तको गाछन विश्वविद्यालय ग्लोबल क्याम्पस जानुभयो । अध्यक्ष जाङ गिल जाले हलमा उपस्थित लगभग ५०० जना जोशिला बुबा-आमाहरूको सामु चरित्र निर्माणबारे शिक्षा दिन सुरु गर्नुभयो ।

अध्यक्ष जाङ गिल जाका अनुसार “चरित्र शिक्षाको मूल आधार नै आमा हो”

हिजोआज परिवारमा आपराधिक गतिविधिहरू बढ्दैगएकोले चरित्र शिक्षाको महत्त्व अझ बढेको छ । अध्यक्ष जाङ गिल जाले भन्नुभयो, “छोरा-छोरीहरूलाई पढाइमा प्रगति गर्ने बनाउन उनीहरूलाई मानवताको विषयमा पनि सिकाउनुपर्छ । आमा एक शिक्षिका हुनुहुन्छ, जसले आफ्ना छोरा-छोरीहरूलाई मानवताको विषयमा सिकाउनुहुन्छ ।” त्यसरी बताउनुहुँदै उहाँले चरित्र निर्माणमा आमाहरूले निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुभयो । छोरा-छोरीले सानैदेखि परिवारका सदस्यहरू, अझ विशेषतः आमालाई हेर्दै सिक्ने भएकाले आमाहरूले नै आफ्ना छोरा-छोरीहरूका निम्ति असल उदाहरण देखाउनुपर्छ ।

छोरा-छोरीहरूलाई प्रेम पाउन मात्र होइन, तर प्रेम दिन पनि सिकाउनुपर्छ । छोरा-छोरीहरूसँगै स्वयंसेवा गतिविधिहरूमा सहभागी हुनु पनि चरित्र निर्माण गर्ने उत्तम तरिका हो । त्यसो गर्दा, उनीहरूसँग कुराकानी गर्ने अवसर पनि प्राप्त गर्न सकिन्छ ।

अध्यक्ष जाङ गिल जाले, छिमेकीलाई सोचिदिनु र सहयोग गर्नुचाहिँ कोरियाली संस्कृतिको हिस्सा रहेको कुरा बताउनुभयो । आफ्ना छोरा-छोरीहरूलाई स्वयंसेवा गतिविधिहरूद्वारा प्रेम बाँड्दा मिल्ने खुशी महसुस गर्न सहयोग गरिदिनको निम्ति उहाँले हरेक आमालाई अनुरोध गर्नुभयो । त्यसो गर्दा छोरा-छोरीहरूले विश्वव्यापी लिडरको रूपमा, कठिनाइमा परेका मानिसहरूको सहयोगार्थ आफूलाई समर्पित गर्दै सक्रियतापूर्वक कार्य गर्न सक्छन् । अध्यक्षले गर्नुभएका अनुरोधहरूचाहिँ जलवायु परिवर्तन, युद्ध र अन्य विभिन्न कठिनाइहरूको मारमा परिरहेका विश्वभरिका छिमेकीहरूको हेरचाह गर्ने अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको मूल मान्यता र गतिविधिहरूअनुरूप छ ।

विश्वव्यापी लिडरहरूको निम्ति चरित्र शिक्षा

अध्यक्ष जाङ गिल जाले विशेष वक्तव्यमा आफ्नो स्वयंसेवा र परामर्शको विस्तृत अनुभवको आधारमा दर्शकहरूलाई चरित्र निर्माणबारे सजिलै बुझ्न सक्ने गरी मार्गदर्शन गर्नुभयो । बुबा-आमाहरूले, छोरा-छोरीहरूको चरित्र निर्माणसम्बन्धी दिइएको व्यावहारिक शिक्षाहरूमा ध्यानाकृष्ट गर्दै ती शिक्षाहरूलाई बढो रुचिसाथ सुने । उहाँले पावरपोइन्ट प्रस्तुतिसहित उत्साहपूर्वक दिनुभएको ८० मिनेटको वक्तव्य समाप्त भएसँगै दर्शकहरूको तालीको ठूलो गडगडाहट सुनियो ।

सङनाममा बस्ने सिन सङ ह्वीले भन्नुभयो, “विश्वविद्यालयमा असल चरित्र लिएका विश्वव्यापी लिडरहरूको माग रहेको कुरा मैले हालसालै सुनें । आशा छ, कि मेरो सन्तान पनि संसारलाई फराकिलो दृष्टिकोणले हेर्ने एक प्रतिभाशाली विश्वव्यापी नागरिक बन्नेछ । आजको यो वक्तव्यद्वारा, छोरा-छोरीको निम्ति म आफैले असल उदाहरण देखाइदिनुपर्छ भन्ने कुरा सिकें ।”