गतिविधि खबर

वीलभयूको विश्वविद्यालय विद्यार्थी वातावरणीय लिडर नियुक्ति समारोह

November 22, 2018
FacebookTwitterEmailLineMessage

सन् २०१८ नोभेम्बर २२ तारिखमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा कोरियाको गाछन सम्मेलन केन्द्रमा विश्वविद्यालय विद्यार्थी वातावरणीय लिडर नियुक्ति समारोहको आयोजना गरियो । उक्त दिनमा संयुक्त राज्य अमेरिका, पेरु, दक्षिण अफ्रिका र फिलिपिन्स गरी ४ राष्ट्रका ११ वटा विश्वविद्यालयहरूबाट १४ जना विद्यार्थीहरू वातावरणीय लिडरको रूपमा नियुक्त भए । उनीहरू प्रत्येकले आ-आफ्नो देश फर्किएपछि नवनियुक्त लिडरको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्दो प्रयत्न गर्ने सङ्कल्प गरे । समारोह समाप्त भएपछि संयुक्त राज्य अमेरिका, पेरु र कोरियाको विश्वविद्यालय विद्यार्थीहरूले आ-आफ्नो देशको वर्तमान सरसफाइ गतिविधि र वातावरणसम्बन्धी जनचेतना जगाउने तरिकाबारे PPT प्रस्तुति दिए ।

वातावरणीय लिडर नियुक्त गरी विश्वव्यापी वातावरण जोगाउन चालिएको एक कदम

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूमध्येबाट वातावरणीय लिडरहरू नियुक्त गरियो । उनीहरूले बढ्दो जलवायु परिवर्तनप्रति प्रतिक्रिया दिँदै वातावरण संरक्षणार्थ नजिकबाट सहकार्य गर्नेछन् । सन् २०१८ नोभेम्बर २२ तारिखमा वीलभयू फाउन्डेसनले कोरियास्थित सङनामको गाछन विश्वविद्यालयमा वातावरणीय लिडर नियुक्ति समारोहको आयोजना गऱ्यो । समारोहमा वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जा, वीलभयू सञ्चालक समितिका सदस्यहरू, स्थानीय विश्वविद्यालय विद्यार्थीहरू र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट वातावरणीय विद्यार्थी लिडरहरू गरी लगभग ४०० जनाको उपस्थिति रह्यो । त्यसको अतिरिक्त पेरुका सर्वोच्च न्यायाधीश (पेरुको न्यायिक शक्ति र सर्वोच्च अदालतका पूर्व अध्यक्ष) र अमेरिकी राज्यहरूको संघ[Organization of American States, OAS]का वातावरणीय संरक्षण सद्भावना राजदूत, डुबेर्ली रोड्रिगेज टिनिओले विश्वको वातावरण जोगाउन कार्यरत विद्यार्थीहरूलाई प्रोत्साहन दिनुभयो ।

मानव-जातिको निम्ति हराभरा भविष्य सिर्जना गर्ने वातावरणीय लिडरहरू

अध्यक्ष जाङ गिल जाले आफ्नो उद्घाटन मनतव्यमा, विपत्तिहरू निरन्तर झरिरहेका स्थानहरूमा अझ ठूलो सङ्कट उत्पन्न हुन नदिनको निम्ति व्यावहारिक प्रयासहरूको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । उहाँले उपस्थित विश्वविद्यालय विद्यार्थीहरूलाई “मानव-जातिलाई प्रेम गर्ने र सद्भाव लिएका जवान वातावरणीय लिडरहरू” भन्नुभयो । अनि उक्त समारोह मानव-जातिको भविष्यको लागि ठूलो सहयोग प्राप्तिको अवसर बन्ने कुराको आशा गर्नुभयो । पेरुका सर्वोच्च न्यायाधीश डुबेर्ली रोड्रिगेज टिनिओले विश्वका सबै सरकारहरूले वातावरणीय समस्याहरू समाधानको निम्ति कोसिस गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले ती समस्याहरू समाधान गर्नमा सक्दो प्रयत्न गर्ने वाचा गर्नुभएकोले दर्शकहरूबाट उत्साहजनक प्रतिक्रिया पनि प्राप्त गर्नुभयो ।

त्यसपछि वातावरणीय लिडर नियुक्ति कार्यक्रम सुरु भयो । निरन्तर रूपमा आफ्नो विश्वविद्यालय र स्थानीय समुदायमा वातावरणीय गतिविधिलाई सञ्चालन गर्दैआएका ११ वटा विश्वविद्यालयहरूका १४ जना विद्यार्थीहरूलाई वातावरणीय लिडरको रूपमा नियुक्त गरियो । विशेष गरी संयुक्त राज्य अमेरिका, पेरु, दक्षिण अफ्रिका, फिलिपिन्स लगायतका विभिन्न देशहरूबाट वातावरणीय लिडरहरू छनोट गरिएका थिए । अध्यक्ष जाङ गिल जाले प्रत्येक विद्यार्थीलाई नियुक्ति पत्र र छात्रवृत्ति प्रमाण-पत्र दिनुभएर प्रोत्साहन दिनुभयो ।

नियुक्ति पत्र प्राप्त गरेपछि दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयकी लेसेडी मोक्गाउत्सीले भनिन्, “मलाई विश्वविद्यालय विद्यार्थी वातावरणीय लिडर बन्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद ! एक व्यक्तिले सानो परिवर्तन मात्र ल्याउन सक्छ, तर हामीहरू एकताबद्ध भयौं भने ठूलो परिवर्तन ल्याउन सक्छौं । म आफ्नो देश फर्केर गएपछि अफ्रिका र पूरै विश्वमा परिवर्तन ल्याउने हेतुले वातावरणबारे जनचेतना जगाउन प्रयास गर्नेछु ।”

सानो कुराबाट सुरु गरेर वातावरण संरक्षण गरौं !

त्यसपछि प्रत्येक देशका विश्वविद्यालय विद्यार्थी वातावरणीय लिडरहरूले वातावरण सरसफाइ गतिविधिहरूको उदाहरण प्रस्तुत गरे । संयुक्त राज्य अमेरिकाको डेन्भर, कोलोराडो पालोमा कलेजकी सेथ सिगलकले प्लास्टिकजन्य फोहोरहरूसम्बन्धी प्रस्तुति दिँदै, सान डिएगो क्यालिफोर्निया समुद्री तट सरसफाइ गरेको उदाहरण प्रस्तुत गर्दै भावी योजनाहरूबारे वर्णन गरिन् । पेरुभियन यूनिभर्सिटीकी अफ एप्लाइड साइन्सका जिओआन मुर्गा डियाजूले ‘महान् नतिजाको सुरुवातचाहिँ प्रायः कमजोर नै हुन्छ’ भन्ने शीर्षकमा प्रस्तुति दिइन् । उनले दक्षिण अमेरिकाको सबैभन्दा बढी प्रदूषित कार्पायो समुद्री तटमा गरिएको सरसफाइ क्याम्पेनबारे बताइन् । उनले भनिन् “हजार शब्दहरूभन्दा एउटा कार्य नै महत्त्वपूर्ण हुन्छ । सानो कार्यले पनि ठूलो फरक पार्नेछ ।”

इवा महिला विश्वविद्यालयकी लि दा ऱ्याङले कोरियाबाट सुरु भएर विश्वभर फैलिएको वीलभयू फाउन्डेसनको क्लीन वर्ल्ड अभियानबारे परिचय दिइन् । उनले सबै मानिसहरूको हर्षपूर्ण भविष्य निर्माण गर्न आमाको जस्तै मन लिएर विश्वविद्यालय विद्यार्थी वातावरणीय लिडरको भूमिका निर्वाह गर्न दर्शकहरूलाई प्रोत्साहन दिँदै आफ्नो प्रस्तुति समाप्त गरिन् । विश्वविद्यालय विद्यार्थीहरूले विश्वव्यापी वातावरण संरक्षण गर्नु र जनचेतना जगाउनुको महत्त्वबारे बुझेपछि सरसफाइ गतिविधिहरू गर्न र वातावरणीय शिक्षामार्फत नयाँ वातावरणीय लिडरहरू हुर्काउन प्रयत्न गर्ने सङ्कल्प लिए ।