गतिविधि खबर
March 26, 2012

‘जलवायु परिवर्तनको सामना गर्न’ अध्यक्ष जाङ गिल जा र गाबोनका राष्ट्रपतिबीच MOU सम्झौता

FacebookTwitterEmailLineMessage

सन् २०१२ मार्च महिनाको २६ तारिखमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जा र गाबोनका राष्ट्रपति अली बोङ्गो अन्डिम्बाद्वारा ग्रीन क्याम्पस वातावरण गोष्ठीमा, ‘जलवायु परिवर्तनको सामना गर्न’ MOU सम्झौता-पत्रमा हस्ताक्षर गरियो । सउल ओलम्पिक पार्कमा वीलभयू र देजायनको संयोजकत्वमा आयोजित उक्त गोष्ठीमा वीलभयू र देजायनका अधिकारीहरू, गाबोन सरकारका अधिकारीहरू एवम् विश्वविद्यालय विद्यार्थीहरू गरी २०० जनाको सहभागिता रह्यो । 

गाबोनका राष्ट्रपतिसँगै वातावरण गोष्ठी

गाबोनका राष्ट्रपति अली बोङ्गो अन्डिम्बा सन् २०१२ सउल आणविक सुरक्षा शिखर सम्मेलनमा सहभागी हुन कोरिया भ्रमणमा आउनुभएको भए पनि सबैभन्दा पहिला ग्रीन क्याम्पस वातावरण गोष्ठीमा सहभागी हुनुभयो । प्राकृतिक स्रोतको धनी राष्ट्र गाबोनचाहिँ अफ्रिकाका सम्पन्न राष्ट्रहरूमध्येको एक हो । गाबोनका नागरिकहरू वातावरणीय चुनौतीहरूलाई जित्न हरप्रयत्न गर्छन् ।

गोष्ठी सुरु हुनअघि राष्ट्रपति अली बोङ्गो र अध्यक्ष जाङ गिल जाले गाबोन मन्त्रीमण्डलका मुख्य सदस्यहरूलाई अभिनन्दन गर्नुभयो । राष्ट्रपतिले वीलभयू फाउन्डेसनद्वारा सञ्चालित स्वयंसेवा गतिविधिहरूको परिचय दिने प्यानल प्रदर्शनीको अवलोकन गर्नुहुँदै वातावरण संरक्षणार्थ गरिएका गतिविधिहरूको प्रशंसा गर्नुभयो ।

अध्यक्ष जाङ गिल जाले स्वागत मन्तव्यमा, व्यस्त कार्यतालिकाको बाबजुद कार्यक्रममा सहभागिता जनाउनुभएका गाबोनका राष्ट्रपति एवम् मुख्य सदस्यहरूप्रति कृतज्ञता जाहेर गर्नुभयो । त्यसको साथै ग्रीन क्याम्पस वातावरण गोष्ठीले सहभागीहरूको मनमा मानव सेवाको भाव जगाउने र गाबोनसँगै सहकार्य गर्नमा उत्प्रेरकको भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष जाङ गिल जा र गाबोनका राष्ट्रपतिद्वारा जलवायु परिवर्तनको सामना गर्न सहकार्य गर्ने प्रतिज्ञा

हामीले सहकार्य गर्दा, विश्व वातावरण अभियानले थप शक्ति प्राप्त गर्नेछ । यसरी यो पृथ्वीमा सामञ्जस्यता छाउनेछ, अनि विभिन्न जीवित प्राणीहरू र मानव-जाति सहअस्तित्वमा रहन सक्नेछन् ।

अली बोङ्गो अन्डिम्बा, गाबोनका राष्ट्रपति

कार्यक्रममा गाबोनका राष्ट्रपति अली बोङ्गोले गाबोनको वातावरणसम्बन्धी नीतिहरूबारे वर्णन गर्नुभयो, अनि वातावरण संरक्षण र सन्तुलनको महत्त्वमाथि प्रकाश पार्नुभयो । त्यसको साथै वीलभयूले वातावरण संरक्षणार्थ गरेका गतिविधिहरूबाट ठूलो सहयोग मिल्ने कुरा पनि बताउनुभयो ।

‘जलवायु परिवर्तनको सामना गर्न’ र विश्वव्यापी रूपमा हरियाली वृद्धि गर्नको निम्ति सहकार्य गर्ने हेतुले वीलभयूकी अध्यक्ष जाङ गिल जा र गाबोनका राष्ट्रपति अली बोङ्गोद्वारा MOU सम्झौता-पत्रमा हस्ताक्षर गरियो । यसरी दुवै पक्षद्वारा राष्ट्रको सीमा पार गरी, कष्टमा रहेका छिमेकीलाई सहयोग गर्दै हरियाली समाज निर्माणार्थ अग्रणीको भूमिका निर्वाह गर्न सक्दो प्रयत्न गर्ने प्रतिज्ञा गरियो ।

स्वच्छ र स्वस्थ पृथ्वी निर्माणको निम्ति सहकार्य

देशको राष्ट्रपतिले कुनै गैरसरकारी संस्थाद्वारा गरिएका गतिविधिहरूलाई समर्थन गर्नु सामान्य विषय होइन । यद्यपि वातावरण प्रदूषणले मानव-जातिको भविष्यमा चुनौती थप्ने कार्य गरिरहेको छ । त्यसको सामना गर्नको निम्ति वीलभयू फाउन्डेसनले वातावरण संरक्षणार्थ क्लीन वर्ल्ड अभियानसँगै विश्वव्यापी रूपमा स्वयंसेवा गतिविधिहरू सञ्चालन गर्छ । अन्य देशका सरकार र नगरपालिकाहरूले स्थानीय समुदाय सरसफाइ गर्न र वातावरणीय मामिलाहरूबारे जनचेतना जगाउन प्रयत्न गर्ने वीलभयूका स्वयंसेवकहरूलाई समर्थन गरेका छन् ।

स्थानीय समुदाय, राष्ट्र र संसारले एकसाथ कार्य गर्दा, स्वच्छ वातावरण र स्वस्थ पृथ्वी निर्माण गर्न सकिन्छ । गाबोनका राष्ट्रपति अली बोङ्गोको समर्थनद्वारा वीलभयू फाउन्डेसनले त्यो लक्ष्य प्राप्तिका लागि अझ एक पाइला अगि सारेको छ । वीलभयूका स्वयंसेवकहरूले वातावरण संरक्षण गतिविधिहरू गर्दै पृथ्वीलाई बचाउने कार्यको नेतृत्व लिने योजना बनाएका छन् ।

सम्बन्धित लेखहरू