छुसक पर्वको उपलक्ष्यमा बहुसांस्कृतिक परिवारहरूका लागि प्रेम बाँड्ने कार्यक्रम
सन् २०१० अगस्ट १३ तारिखमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा बहुसांस्कृतिक परिवारहरूका लागि प्रेम बाँड्ने राष्ट्रिय बिदा (छुसक, कोरियाको पर्व) कार्यक्रमको आयोजना गरियो । सन् २०१० सेप्टेम्बर १३ तारिखमा ७ वटा देशहरूबाट ८०भन्दा बढी बहुसांस्कृतिक परिवारहरूलाई आमन्त्रण गरियो । अध्यक्ष जाङ गिल जा र वीलभयू फाउन्डेसनका सदस्यहरूद्वारा कोरियाली खेल र परिकारहरू लगायतका विभिन्न कोरियाली संस्कृतिहरूको तयारी गरियो । उक्त कार्यक्रमद्वारा, बालकदेखि लिएर वयस्कसम्मका सबै सहभागीहरूले छुसकलाई पर्खंदै एकसाथ खुशीको माहोल सृजना गरे ।
बहुसांस्कृतिक परिवारहरूसँग बिदा मनाउँदै
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले सङनाम नगरपालिका र अन्तर्राष्ट्रिय विश्वविद्यालय विद्यार्थी वातावरणीय अभियान संस्थाको सहयोगमा सन् २०१० अगस्ट १३ तारिखमा बहुसांस्कृतिक परिवारका लागि १५औँ प्रेम बाँड्ने कार्यक्रमको आयोजना गऱ्यो । कोरियामा विवाह वा रोजगारी जस्ता कारणले बसोबास गर्ने करिब ८० बहुसांस्कृतिक परिवारहरू सङनाम सिटी हलको हनुरी सम्मेलन कक्षमा भेला भए । फिलिपिन्स, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मङ्गोलिया, चीन, जापानजस्ता विभिन्न देशहरूका मानिसहरूले एकसाथ भेला भएर छुसक पर्वको माहोल सृजना गरे ।
सबै सहभागीहरूले आफ्नै देशमा भएझैँ गरी रमाहट गर्नेछन् भन्ने आशाका साथ अध्यक्ष जाङ गिल जाले भन्नुभयो, “हामीले एक-अर्कालाई बुझिदिएमा हामी यो पृथ्वीका एउटै जाति र एउटै राष्ट्र बन्न सक्छौं ।” अध्यक्षले थप भन्नुभयो, “भिन्न संस्कृतिका कारण यहाँहरूलाई अलि असहज भएको छ होला, त्यसकारण हामीले कोरियाको सबैभन्दा ठूलो राष्ट्रिय बिदाको दिन, छुसक पर्वको उपलक्ष्यमा यहाँहरूलाई सान्त्वना दिन यो कार्यक्रम तयार गरेका हौं । कार्यक्रम सानो भए पनि यहाँहरूले यसलाई ठूलो मान्नुहुनेछ भनी आशा गर्दछु ।” कार्यक्रममा उपस्थित कोरियाको युवा सेवा केन्द्रका प्रमुख निर्देशक इ बे गुनले सामाजिक पूर्वाग्रहरूलाई एकत्र पन्छाएर अन्तर्राष्ट्रिय परिवारहरूलाई अँगाल्नको निम्ति यस्ता कार्यक्रमहरूको अझ धेरै आयोजना हुनुपर्छ भन्दै आफ्नो इच्छा जाहेर गर्नुभयो ।
कोरियाली परम्परागत संस्कृतिको अनुभवद्वारा स्मृति गाँस्दै
अध्यक्ष जाङ गिल जाले दुई शब्द राख्नुभएपछि, परिवारहरूले परम्परागत कोरियाली संस्कृति र खेलहरूको अनुभव गरे । अन्तर्राष्ट्रिय विश्वविद्यालय विद्यार्थी वातावरणीय अभियान संघका सदस्यहरूले हानबोक(परम्परागत कोरियाली पोशाक), जेगिछागी(चुङ्गी), थुहो(भाँडोमा बाण छिराउने खेल) जस्ता कोरियाली संस्कृतिहरूको अनुभव गराउन उपस्थित परिवारहरूका लागि विभिन्न बुथहरू तयार गरे । सहभागीहरूले हानबोक लगाए, अनि झुकेर अभिवादन गर्ने तरिका सिक्दै मैत्रीपूर्ण समय बिताए । पाहुनाहरूले फोटो खिचेर त्यसलाई स्मृति चिनोस्वरूप आ-आफ्नो घर लिएर गए । पूरै कक्षमा उज्यालो मुस्कानको बहार छायो ।
भियतनामबाट आफ्नी छोरीलाई भेट्न आएकी, फाम थि सुआनले पनि कार्यक्रममा सहभागिता जनाउने अवसर पाइन् । आफ्नो परम्परागत भियतनामी लुगामाथि हानबोक लगाइहेर्दा उनी प्रफुल्लित भइन् । थाइल्यान्डबाट आएका अर्का पाहुना याङ सु यनले खुशी मान्दै भने, “म कोरियामा बसेको १० वर्षभन्दा बढी भयो, तर म ३ पटक मात्रै आफ्नो गृहनगर गएको छु । सधैँ मेरो हेरचाह गर्नुहुने मेरी आमाको प्रेम आज मलाई महसुस भइरहेको छ ।”
“बहुसांस्कृतिक परिवारहरू हाम्रा छिमेकीहरू”
कोरियाली संस्कृतिको अनुभव गरेपछि उनीहरूले वीलभयूका सदस्यहरूद्वारा तयार पारिएको रात्रीभोजको मज्जा लिए । अध्यक्ष जाङ गिल जाले “छुसक पर्वमा कोरियालीहरूले छिमेकीहरूसँगै भोजन बाँड्ने गर्छन्” भन्नुहुँदै उनीहरूलाई वीलभयूका सदस्यहरूले तयार पारेका परिकारहरूको आनन्द लिन आग्रह गर्नुभयो । वीलभयूका सदस्यहरूले पाहुनाहरूका लागि प्रेमद्वारा तयार पारेका बुलगोगी(तारेको मासु), सोङफ्यन(चामलको केक) र फलफूलहरूद्वारा टेबिल भरिभराउ भयो ।
हरेक वर्ष कोरियामा बसाइँ सरेकाहरू लगायत सबै जनाले छुसक पर्वको लागि व्यापक तयारी गर्छन् । यद्यपि कोरियाका नागरिक नभएकाहरू आफ्नो गृहनगर जान नपाउने भएकोले आफ्ना बुबा-आमालाई धेरै याद गर्न पुग्छन् । ८ जना दिदीबहिनीहरूमध्ये कान्छी रहेकी इन्कजिमेग ३ वर्षअघि मङ्गोलियाबाट आएकी थिइन् । उनले बिरामी हुँदा वा राष्ट्रिय पर्वको समयमा बुबा-आमा र दिदीबहिनीको याद आउने गरेको कुरा बताइन् । उनले घरको नजिकै बस्ने वीलभयूका सदस्यहरूलाई सहयोगको निम्ति धन्यवाद दिइन्, अनि अहिले कोरियाली जीवनसँग आफू धेरै अभ्यस्त भइसकेको कुरा बताइन् ।
हामीसँग हाम्रो परिवार साथमा भएकोले हामी राष्ट्रिय बिदाका दिनहरूमा खुशी हुन्छौं । हातमा उपहार र अनुहारमा मुस्कान लिई सहभागीहरू कार्यक्रम हलबाट बाहिरिए । छुसक पर्वमा पारिवारिक प्रेम र आमाको प्रेम समावेश हुने भएकोले अन्तर्राष्ट्रिय परिवारहरूका लागि यो पर्व अझ अर्थपूर्ण हुनेछ ।